Myad thap pachi a chunauti

Myad thap pachi a chunauti

 म्याद थपपछिका चुनौती
म्याद सकिने झन्डै आधा घन्टाअघि संविधानसभाको नवीकरण गरे पनि नया संविधान बन्ने त्रास र चिन्ता हटेको छैन । संविधानलेखनका लागि तोकिएको दुई वर्ष अवधि सानो होइन । यो दुई वर्षको अवधि पार्टी नेताहरू र सभासद्हरूले कसरी बिताए ? जनताले लेखाजोखा गरेका छन् । संविधानसभाभन्दा नेताहरूको ध्यान अन्य विषयमा केन्द्रीय भएको, संविधानसभामा सभासद्को न्यून उपस्थिति, नाराबाजी र रोस्ट्रम घेराउ, एकअर्काप्रति आरोपप्रत्यारोप, कुर्सीको छिनाझप्टीलाई  जनताले बहुतै नियालेर हेर्ने र बुझ्ने अवसर पाए । 


गणतन्त्रको स्थापनापछि ठूलो परिवर्तनको आशा बोकेका जनतामा ठूलो नैरश्य आयो जसको फलस्वरूप संविधान समयमा नलेखिएकामा जनता विभिन्न किसिमले आफ्नो रोष प्रकट गरे । सभासद्हरूको पुतलासमेत जलाए, केस मुन्डन गरे एवं सेता वस्त्रसमेत धारण गरे । यो जनताको विरोध र रोषको मर्मलाई सभासद् र नेताहरूले राम्ररी बुझ्नु जरुरी छ । 

गणतन्त्रमा जनता सर्वोपरि हुन्छन् । गणतन्त्रको सबैभन्दा ठूलो विशेषता यही हो, जनतालाई केन्द्रमा राखेर जनताको इच्छा, आकांक्षा र आवश्यकतालाई प्राथमिकता नदिने हो भने गणतन्त्र केवल नारा मात्र हुन्छ । अहिले १ वर्ष संविधानसभाको म्याद थपिएको छ । धेरै सभासद्हरूले संविधानलेखन करिबकरिब ८० प्रतिशत सकिइसकेको र २०/३० प्रतिशत मात्र बाँकी रहेको कुरा विभिन्न सञ्चारमाध्यमबाट व्यक्त गरिरहेका छन् । यदि यो कुरा साँचो हो भन्ने नयाँ संविधान आउन १ वर्ष लाग्दैन । इमानदारीसँग काम गर्ने हो भने दुई तीन महिनामा संविधानलेखनको कार्य सकिन सक्छ । अब सभासद्हरूले नचाहिने कुरामा समय खर्च गर्नुभन्दा यथाशीघ्र नयाँ संविधान तयार गरी जनताका आँखामा आफ्नो सकारात्मक छवि प्रस्तुत गर्न सफल हुनुपर्छ । संविधानलेखनलाई बिनाअवरोध अगाडि बढाउन सबै दल र सभासद्ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ । 

जनताले चाहेको प्रमुख कुरा देशमा शान्ति र सुव्यवस्था हो । शान्ति र सुव्यवस्थाबाट नै राजनीतिक  स्थिरता कायम हुन सक्छ साथसाथै आर्थिक र सामाजिक रूपान्तरण हुन सक्छ । यसैले दण्डहीनताको अन्त्य गरी बृहत् शान्ति सम्झौताको प्रभावकारी कार्यान्वयनमा सबैभन्दा बढी जोड दिनु आवश्यकता छ । यही नै सबैभन्दा ठूलो चुनौतीका रूपमा देखिएको छ । अर्को महत्त्वपूर्ण चुनौती, शिविरमा रहेका लडाकुहरूको यथाशीघ्र व्यवस्थापन गर्ने काम हो । 

जनता भोकबाट मुक्ति चाहन्छन्, महँगीको मारबाट जनता राहत चाहन्छन् । अहिले कसरी जनतालाई भोक र महँगीबाट मुक्ति  दिलाउने त्यसतर्फ सरकारको ध्यान सबैभन्दा बढी केन्दि्रत हुनु जरुरी छ । खाद्यपदार्थको मूल्यमा दोब्बरभन्दा बढी वृद्धि भएको छ । विशेष गरेर दुर्गम क्षेत्र हुम्ला, जुम्ला, कणर्ालीलगायत ठाउँमा त खाद्यान्न अभावका खबर आइरहेका छन् । अहिले जनतालाई  १ पेट पनि खान धौधौ परेको छ । यो मर्का कसले बुझ्ने ? यसैले अहिले सबैभन्दा ठूलो सरकारको प्राथमिकतामा चर्को मूल्य वृद्धिबाट जनतालाई राहत दिनु, अपहरण, हत्या र हिंसालाई नियन्त्रण गर्नुपर्छ ।  

बेराजगारी र आर्थिक अवस्था नाजुक भएकाले लाखौंको संख्यामा नेपाली युवाहरू कामको खोजीमा विदेश पलायन, नेपाली चेलीहरू पनि प्रलोभनमा परी विदेशमा पलायन भई हिंसा र यौनशोषणको सिकार हुने गरेका घटना प्रश्ास्त आइरहेका छन् । आर्थिक अवस्था कमजोर भएको कारण देशबाहिर महिला र पुरुष कामको खोजीमा विभिन्न मुलुक जाने प्रक्रियालाई रोक्न त सकिँदैन तर उनीहरूको आवातजावतलाई सुरक्षित गर्नेतर्फ सरकारको प्राथमिकता हुनुपर्छ । यसैगरी देशभित्र पनि मौलाउँदै गएको यौनविकृतिलाई अन्त्यको प्रयास गर्नु जरुरी छ । 

प्रधानमन्त्री माधवकुमार नेपा--े राजीनामा दिएर नयाँ सहमतिको सरकार आउने बित्तिकै ठूलो परिवर्तनको आशा गर्न सकिँदैन । नेताहरूको सोच र मानसिकतामा परिवर्तन नआएसम्म ठूलो परिवर्तनको आशा गर्न व्यर्थ छ । अहिले आफ्नै नेतृत्वमा सरकार बनाउने गणितीय खेल विभिन्न पार्टीहरूमा सुरु भइसकेको छ । २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना भइसकेपछि अहिलेसम्ममा १४ वटा सरकार परिवर्तन भइसकेको नेपालीको अनुभव छ । सधैं जनताले आश्वासनका पोका मात्र पाए । नेताका आसेपासे र वरिपरिकाहरूले मात्र मुख्यरूपले सत्ताको स्वाद र सुविधा पाए । कुख्यात अपराधीहरूले पार्टीको छाताभित्र संरक्षण पाए । नेताका आफन्तहरू विभिन्न ठाउँमा भर्ती भए । अहिले संविधानसभामा हेर्दा पनि त्यसको अभास प्रशस्त रूपमा देखा पर्छ । निष्ठाको राजनीति गर्नेहरू चाकरी नगर्नेहरू योग्य र सक्षम भए तापनि पछाडि परेका छन् । हरेक राजनीतिक दलभित्र यस्तै अवस्था छ । चन्दा दिनेहरू चोखिएका छन् । शक्ति संरचनाका उच्च तहमा पुगेका छन् । आफ्नो पार्टी परित्याग गरी सत्तामा पुग्ने अवसरवादीहरूको ठूलो जमात दिनदिनै बढ्दै गइरहेको छ । 

यस्ता गलत प्रवृत्तिको हालिमुहाली भएको अवस्थामा हामी जनताले आमूल परिवर्तनको आशा कसरी गर्ने ? राजनीतिमा नयाँ मूल्य र मान्यताको संस्कृतिको विकास नभई ठूलो परिवर्तनको कल्पना शून्य आकाशमा कल्पनाको घर बनाउने जस्तै हो ।

प्रकाशित मिति: २०६७ असार १३
Link: 
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=220071


Attachments#
No files

Get the latest news and updates from ABC-Nepal.